इजरायल जानेको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षण गर्ने तयारी

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान छनोट भएका कामदारको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षण गर्ने तयारी भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
 
उनीहरूको अबको चार दिनभित्र स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन तयार पार्न सूचना सार्वजनिक गर्ने तयारी भएको वैदेशिक रोजगार विभाग इजरायल शाखाले जनाएको छ । 

पहिलो चरणमा ५०० जनाका लागि मेडिकल र प्रहरी प्रतिवेदनका लागि सूचना सार्वजनिक गर्ने तयारी भएको विभागले जनाएको छ । इजरायलले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेको बताइएको छ ।

छनोटको अन्तिम नतिजा सार्वजनिक भएसँगै विभागले कामदार पठाउने तयारी गर्दै आएको थियो। इजरायलले हाल अन्तिम चरणमा छनोट भएका नेपालीको रोजगार सम्झौता, भिसा र अन्य प्रक्रियाबारे काम गरिरहेको छ । 

दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदारको अन्तिम छनोटका लागि नेपालले इजरायललाई उपलब्ध गराएका एक हजार ६०० जना उम्मेदवारमध्ये एक हजार १७५ रोजगारीका लागि योग्य भएका थिए ।

मेडिकल लगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमानसहित निर्धारण गरिएको भन्दा थप १७५ को नाम अन्तिम चरणमा राखिएको छ । जसमा महिला ८२१ र पुरुष ३५४ रहेका छन् ।

विभागले इजरायल जाने नेपालीले मासिक एक लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ। एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर पाँच वर्षसम्म बस्न पाइने छ । 

त्यसैगरी यसका लागि जाने श्रमिकले हवाइ भाडा, स्वास्थ्य बिमा, अभिमुखीकरण, पासपोर्ट, पिसिआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषसहित एक लाख ६५ हजार ७०० रुपैयाँ खर्च हुने विभागले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया