काठमाडौं, आउँदो बैशाख १ गते (२०२२ अफ्रिल १४) बाट प्रदर्शनमा आउन लागेको साउथको बहुप्रतिक्षीत फिल्म ‘केजीएफ २’ लाई दुई हप्ता छाडेर ‘प्रकाश’ प्रदर्शन हुने प्रवल सम्भावना छ । आउँदो बैशाखको २३ वा ३० गतेभित्र फिल्मलाई प्रदर्शन गर्ने गरी अहिले निर्माण टिमले वितरकसँँग छलफल गरिरहेको छ । नेपाल प्रदर्शनअघि फिल्मलाई अन्तर्राष्ट्रिय महोत्सवहरुमा पठाइने जानकारी प्राप्त छ ।
दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । रेनुले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय छ । फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् ।
निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथामा फिल्म आधारित छ । फिल्ममा प्रदीपले पहिलो पटक गाउँले युवकको निर्वाह गरेका छन् । राजेश श्रेष्ठले खिचेको यो फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्मका गीतमा तारा प्रकाश लिम्बु, एलिसा कार्की र दीपक शर्माले संगीत भरेका छन् ।
प्रतिक्रिया