एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले टोलीका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई अर्जेन्टिनाले आसन्न विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा समेटेकामा असन्तुष्टि व्यक्त गरेको छ ।
चोटग्रस्त खेलाडीलाई टोलीमा बोलाइएको भन्दै पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले गुनासो पोखेका हुन् । दायाँ घुँडामा लागेको चोटका कारण मेस्सी पीएसजीका पछिल्ला दुई खेलमा अनुपस्थित थिए । यी खेलमा पीएसजीले च्याम्पियन्स लिगमा आरबी लेइपजिग र घरेलुु लिगमा बोर्डेउक्ससँग प्रतिस्पर्धा गरेको थियो ।
चोट निको हुँदै गरेका खेलाडीलाई टोलीमा समेट्दा भविष्यमा थप संकट उत्पन्न हुने चिन्ता लियोनार्दोले व्यक्त गरेका छन् । अर्जेन्टिनाले विश्वकप छनोटका आगामी खेलमा ब्राजिल र उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ। यी दुवै खेलका लागि प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीलाई राष्ट्रिय टोलीमा समावेश गरेका हुन् ।
यसै सिजन बार्सिलोनाबाट पीएसजीमा आवद्ध मेस्सीले फ्रान्सको घरेलु लिगमा अझै गोल गर्न सकेका छैनन् । च्याम्पियन्स लिगमा भने उनले पीएसजीका लागि तीन गोल गरिसकेका छन् ।
प्रतिक्रिया