एजेन्सी - जारी आईसीसी टी–२० विश्वकपको समूह चरणमा पाकिस्तानले शतप्रतिशत नतिजा निकालेको छ । आइतबार राति समूह चरण अन्तर्गतको पाँचौँ तथा अन्तिम खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान समूह विजेता भएको हो ।
यूएईको शार्जाह क्रिकेट रंशालामा भएको खेलमा टस जितेर पाकिस्तानले पहिलो ब्याटिङ गर्दै स्कटल्यान्डलाई १९० रनको चुनौती दिएको थियो । जवाफमा स्कटल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रनमा समेटियो । स्कटल्यान्डका लागि रिचि बेरिङटोनले अविजित अर्धशतकीय पाली खेले ।
उनले ३७ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाए । त्यस्तै जर्ज मुन्सेले १७ तथा माइकल लिस्कले १४ रन बनाउनबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । स्कटल्यान्डलाई रोक्न पाकिस्तानका शादब खानले २ विकेट लिए। त्यस्तै हसन अलीले १ मेडन राख्दै १ विकेट लिए भने शहिन शाह अफ्रिदीको नाममा पनि १ विकेट रह्यो ।
यसअघि ब्याटिङ गरेको पाकिस्तानले निर्धारि २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । उसका लागि कप्तान बाबर अजामले ६६ र शोयब मलिकले ५४ रन जोडेका थिए। त्यस्तै मोहम्मद हफिजले ३१ रन बनाएका थिए ।
स्कटल्यान्डका लागि क्रिस ग्रिभ्सले २ विकेट लिए । त्यस्तै हम्जा तहिर सफ्यान शरिफले १र१ विकेट लिए । यस्तै भारतीय टीमको यात्रा यो विश्वकपका लागि भने समाप्त भएको छ ।
सोमबार हुने नामीबियाविरुद्धको खेल अब एउटा औपचारिकता मात्र हुनेछ । टी–२० विश्वकपको सेमीफाइनलमा अब अस्ट्रेलिया–पाकिस्तान तथा न्यूजील्याण्ड–इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
आईपीएल लगत्तै टी–२० विश्वकप प्रारम्भ भएको बेला भारतलाई यो प्रतियोगिताकै दावेदार मानिएको थियो । किनभने, भारतीय खेलाडीहरु लामो समयदेखि यूएईमा थिए । यसबाहेक अभ्यास खेलमा समेत भारत उत्कृष्ट खेल प्रस्तुत गरेको थियो ।
तर, प्रतियोगिता प्रारम्भ हुने बित्तिकै सम्पूर्ण समिकरण नै परिवर्तन भयो । भारतले पाकिस्तानविरुद्धको आफ्नो पहिलो खेल नै गुमाउन पुग्यो । कुनै पनि विश्वकपमा पाकिस्तानसंग यो भारतको पहिलो हार थियो ।
दोस्रो खेलमा भारतलाई न्यूजील्याण्डले हरायो । दुई ठूला हारपछि नै भारत यो प्रतियोगितामा रहिरहने कुरामा संकट उत्पन्न भएको थियो । स्कटल्याण्ड र अफगानिस्तानलाई ठूलो अन्तरले पराजित गरेर भारत प्रतियोगितामा त फर्कियो, तर यो बेलासम्म निकै ढिला भैसकेको थियो ।
प्रतिक्रिया