काठमाडौँ, राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न सुरु भएको काम चार वर्षदेखि अलपत्र छ ।
अलपत्र छानाको काम अघि बढाउन सहयोग नजुटेपछि गत आर्थिक वर्षका लािग नगरपालिकाले रु तीन करोड विनियोजन गरे पनि काम हुन सकेन । नगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ मा पनि रु एक करोड बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७६/२०७७ मा विनियोजन गरेको रु तीन करोड परिषद् बसेन भन्ने बहानामा एक पैसा पनि नआएको गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समितिका अध्यक्ष कोमलबहादुर विष्ट बताउँछन् । महायज्ञकै क्रममा २२ तोला सुन सहयोगस्वरुप सङ्कलन भएको थियो । महायज्ञमै प्राप्त भाँडा बेचेर रु ३९ लाख आम्दानी भएको पनि समितिले जनाएको छ ।
नगरपालिकाका प्रमुख सन्तोष चालिसे भने बजेट अभावका कारण नभई तामाको पातामा सुनको लेप लगाउने काम संवेदनशील भएकाले ढिला भएको बताउँछन् । पाटनका कामदारले मात्र यो काम गर्ने भएकाले उनीहरुको समय नमिलेर पनि काममा ढिलाइ भएको उनको भनाइ छ । मन्दिर व्यवस्थापन समितिले रु एक करोड थप बजेट नगरपालिकासँग माग गरेकामा रु डेढ करोड दिएर छिटो काम सक्न निर्देशन दिएको छ ।
मूल सडकसँगै रहेको मन्दिरमा काम अलपत्र भएको देखिन्छ । मुख्य मन्दिरमा सुनको छाना, मूर्तिलगायत संरचना स्वर्णजडित बनाउने लहर नै चलेको देखिन्छ । गुह्येश्वरीको गर्भगृहमा रहेको अष्टदल र भैरवको मूर्ति सुनको बनाएर राखिएको १८ वर्षपछि करिब दुई किलो सुन गायब भएको समाचार गत वर्ष सार्वजनिक भएको थियो ।
पशुपतिनाथमा सुनको जलहरी राखेको विषय पनि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेको छ । मन्दिर क्षेत्रमा सुनका संरचना बनाइए पनि त्यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पुरातत्व विभागका अधिकारीहरु बताउँछन् ।
प्रतिक्रिया