काठमाडौं - अधिकांश नेपालीका लागि अनभिज्ञ क्षेत्रका रुपमा रहेको शेयर बजार केहि वर्षयता मध्यम वर्गको आकर्षण र अवसरको केन्द्र बन्न थालेको छ ।
शेयरमा लगानी गर्नेहरुको संख्या दलाल व्यवसायीमा कारोबार गर्न आउने गरेको भिडले पनि पुष्टि हुन्छ । शेयर बजारमा अनलाईन कारोबार शुरु भएपछि शेयर खरीदविक्री र भुक्तानीका लागि ब्रोकर कार्यालय जानु नपर्ने आजको अवस्थाले त लगानीकर्तालाई झन सहज बनाइदिएको छ ।
बैंक तथा वित्तीय संस्थाका ढोकामा शेयर खरीदको लागि डिम्याट खाता खोल्न आउने सर्वसाधारणको थामिनसक्नु भीडले पनि यस्तै पुष्टि गर्छ । विभिन्न कम्पनीले निष्कासन गर्ने प्राथमिक शेयर (आईपीओ) मा मागभन्दा कयौं गुणा बढी आवेदन परिरहेको छ । दोस्रो बजारमा पनि शेयर खरीदविक्री गर्नेको संख्या बढ्दै गएको छ ।
सीडीएससीका अनुसार अहिले शेयरबजारमा संलग्न लगानीकर्ताको संख्या ४६ लाख ६ हजारभन्दा बढी पुगेको छ । यो तथ्यांक गत कात्तिक १६ गतेसम्मको हो । उक्त अवधिसम्ममा ४६ लाख ६ हजार ८२७ जना लगानीकर्ताले शेयरको डिम्याट (अभौतिकीकरण) खाता खोलेका छन् । त्यसैगरी विद्युतीय प्रणाली (अनलाइन) मार्फत शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या झन्डै ११ लाख पुगेको छ ।
पछिल्लो वर्षदेखि आईपीओमा लगानी गर्ने लगानी गर्ने लगानीकर्ताको संख्या बढिरहेको पुष्टि उक्त तथ्यांकले पनि गर्दछ । केहिसाता यता शेयर कारोबारमा उतारचढाब चलिरहेपनि आईपीओ तथा दोस्रो बजारमा लगानीकर्ताहरुको संलग्नता बढ्दै गएको देखिएको छ ।
सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्र शेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका थिए । २०७७ असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६०० मात्र थियो । हालसम्म ७ अर्ब ३९ करोड १८ लाख ६९ हजार ६३१ कित्ताभन्दा बढी शेयर अभौतिकीकरण भएको छ । अभियान दैनिक
प्रतिक्रिया