वैदेशिक रोजगारीमा जानेक्रम क्रमशःबढ्दै, एकै महिनामा ५६८ म्यानपावरद्धारा नेपाली कामदार बाहिरिए

४ बर्ष अगाडि

काठमाडौं, वैदेशिक रोजगारीमा जानेक्रम क्रमशः बढिरहेको छ । असोज महिनामा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । त्यसमा महिला कामदारको संख्या १ हजार ४ सय ७५ रहेकोे छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।
 
असोज महिनामा व्यक्तिगत प्रयासमा १ सय ९२ महिलासहित थप एक हजार ८१ जना, वैधानिकीकरणका माध्यमबाट पाँच सय ५२ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ११ हजार ८ सय ४७ जना गरी समग्रमा ३९ हजार ६ सय ७१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । 

एकै महिनामा ५६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाएका छन् । त्यसमध्ये सबैभन्दा बढी साउदी अरबमा १३ हजार ३ सय ४८ जना, कतारमा ७ हजार ६ सय ८५ जना, यूएईमा ३ हजार १ सय ६ जना, रोमानियामा २ सय ९ जना, ओमानमा ३ सय १३ जना, मरिससमा २५ जना, कुवेतमा २३ जना, जोर्डनमा ७ जना, साइप्रसमा २ सय ३४ जना, बहराइनमा २ सय ५५ जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् ।

 त्यसमध्ये असोज महिनामा  एसओएस म्यानपावर सर्भिस प्रालिबाट ६ सय १७ जनाले अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् । त्यसमा १९ जना महिला छन् । दोश्रोमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रालिले ५ सय ८४ जना, तेश्रो नम्बरमा रहेको प्याराडाइज इन्टरनेशनल प्रालिले ५ सय ११ जना, सूचीको चौथो स्थानमा रहेको ट्यालेन्ट ओभरसिस सर्भिसेस प्रालिले ४ सय ८२ जना, पाँचौं स्थानमा रहेको फजल इन्टरनेशल प्रालिले ४ सय १६ जना, छैठौं स्थानमा रहेको एडभान्स्ड म्यानेजमेन्ट कन्सलट्यान्टस प्रालिले ३ सय ७२ जना, सातौं स्थानमा रहेको सपोर्ट ह्युमन रिसोर्स प्रालिले ३ सय ३७ जनाको अन्तिम श्रम स्वीकृति लिएका छन् । 

 त्यस्तै आठौं स्थानमा रहेको इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले २ सय ८१ जना, नवौं स्थानमा रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रालिले २ सय ६१ र दशौं स्थानमा रहेको अल जाफर इन्टरनेशनल प्रालिले २ सय ४९ जनाको अन्तिम श्रम स्वीकृति लिएका छन् । असोज महिनामा ७२ म्यानपावर कम्पनीले कम्तीमा सय कामदारको अन्तिम श्रम स्वीकृति लिएका  छन् । असोज महिनामा विभागले ६२ हजार ५३ जनाको पुर्व स्वीकृति दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया