चितवन– जङ्गलमा बस्ने गैँडा सहर बजार पस्न थालेपछि कस्तो होला ? स्थानीय वासिन्दा आतङ्कित छन् भने निकुञ्ज अधिकारीहरूको टाउको दुखाइ बनेको छ ।
हुन पनि वन्यजन्तुका लागि विश्वमै प्रसिद्ध चितवनमा स्वदेशी वा विदेशी पर्यटक वन्यजन्तु हेर्न चितवनको राप्ती पारीको सौराहा पुग्ने र जङ्गल घुम्ने गर्थे तर अहिले बजारमै केटो लिएर गैँडा हिँडन थालेपछि आतङ्क छाएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
गैंडा त्यसमा पनि एक सिङ्गेका लागि प्रसिद्ध चितवनमा हात्ती वा जिपबाट एक÷दुई घन्टा जङ्गल यात्रा तय गरेपछि बल्लतल्ल गैँडा देख्न पाइन्थ्यो पहिले, तर अहिले चितवनको मुख्य बजारमै गैँडा र जङ्गली हात्ती आउन थालेका छन् ।
शुक्रबार विहानै नारायणगढ बजारबाट दुई किलोमिटरको दुरीमा पर्ने भरतपुर नगरपालिकाको बाह्रघरे क्षेत्रमा दुर्लभ गैँडा बच्चासहित देखा परेपछि स्थानीय र वन्यजन्तु संरक्षणकर्मी यसको कारण खोज्न थालेका छन् ।
जलवायु परिवर्तनले निकुञ्जभित्रका पोखरीहरू सुक्नु, घाँसे मैदान मासिनु, अनियन्त्रित सहरीकरण र मानवीय गतिविधि बढ्नाले वन्यजन्तु सहरी इलाकामा पस्न थालेको विज्ञहरू बताउँछन् ।
संरक्षणकर्मीले वन्यजन्तु संरक्षणको प्रयासले वन्यजन्तुको सङ्ख्या बढेकाले पनि यस्तो भएको बताएका छन । कारण जे भए पनि वन्यजन्तु अहिले मानव वस्तिमा निस्किएसँगै वन्यजन्तु र निकुञ्ज वरपरका वासिन्दा दुवै जोखिममा छन् ।
प्रतिक्रिया