७३ जनाको ज्यान बचाएका बुद्ध एयरका पाइलट शेर्पा नै दोषी ठहर,३ महिना निलम्बन गर्न सिफारिस

४ बर्ष अगाडि

काठमाडौं, असोज ११ गते ल्याण्डिङ गेयर (पांग्रा) नखुलेर विराटनगरबाट काठमाडौँ फर्काएर सकसपूर्ण रुपमा अवतरण भएको बुद्ध एयरको जहाजका पाइलट एजी शेर्पा दोषी देखिएका छन् । 

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको छानबिन समितिले पाइलट शेर्पालाई दोषी देखाएको हो ।

समितिले बिहीबार बुझाएको प्रतिवेदनमा जहाजको पांग्रा खुलेको तर, पाइलटले चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण हुनुपर्ने बुद्धको जहाज काठमाडौँ फर्काएर आकस्मिक अवतरण गर्नुपरेको उल्लेख गरिएको छ । यसो हुनुमा पाइलट नै जिम्मेवार हुने भन्दै समितिले आफ्नो प्रतिवेदनमा पाइलटलाई ३ महिना निलम्बन गर्न सिफारिस गरेको छ ।

छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणले सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको जनाएको छ । समितिले बिहीबार प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो ।

काठमाडौँबाट ७३ जना यात्रु बोकेर विराटनगर उडेको बुद्धको उक्त जहाज अवतरण हुने समयमा पांग्रा नखुलेपछि क्याप्टेन शेर्पा र प्रशिक्षार्थी को–पाइलट अमन अन्सारीले काठमाडौँ फर्काएका थिए ।

पांग्रा खुले नखुलेको यकिन नभएपछि पाइलटले अवतरण नगराउनु राम्रो पक्ष भएपनि अघिल्लो दिन रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको इपन्डकेटर बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्न पाइटलले नै बिर्सिएको प्रतिवेदनमा औल्याईएको छ ।

समितिले जहाज उडानुअघि ककपिटका सबै बत्तीको अवस्था जाँच नगरिएको पाईएको जनाएको छ । यसलाई सामान्य गल्ती तथा कमजोरीले निम्त्याएको खतरा भएको पनि समितिले जनाएको छ ।

‘जहाजभित्र पर्याप्त साधन र स्रोत हुँदाहुँदै पनि तिनको सदुपयोग नगरी बाहिरी (विराटनगर र काठमाडौं टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर र एयर होस्टेस) सूचनामा भर परेको देखियो,’ प्रतिवेदनमा भनिएको छ । 

यो घटनापछि बुद्धको डीसीपीको इजाजत ३ महिनाका लागि र प्राधिकरणमा भएको डीसीपीको इजाजत ६ महिनाका लागि निलम्बन गरिएको छ । अब उनी बुद्धकै प्रशिक्षक पाइलटसँग २५ घण्टा अनिवार्य उडेपछि मात्रै ‘रिलिज’ हुनेछन् । शेर्पाले आईपी ३ महिनापछि र डीसीपी ६ महिनापछि मात्रै पाउँने छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया