काठमाडौं - मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड हुँदैछ । कम्पनीको शेयर निष्ष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलको कार्यालय नक्सालमा आइपीओ बाँडफाँड गरिन लागिएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाबाट ८ लाख १९ हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।
कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ वटा आवेदन परेको छ । यसअनुसार कुल आवेदकको ३४ प्रतिशतले गोलाप्रथाबाट शेयर पाउनेछन् भने ६६ प्रतिशत (१५ लाख ७४ हजार ४२८ जना) आवेदकको हात खाली हुनेछ ।
कम्पनीले गत असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी ८१ लाख ९० हजार कित्ता शेयरको लागि सर्वसाधरणबाट आवेदन माग गरेको थियो ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया