भिरबाट लडेर महिलाको मृत्यु हुँदा एक पुरुष बेपत्ता, पहिरोमा बेपत्ता भएका १९ जना भेटिएनन

४ बर्ष अगाडि

बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । बडिगाड–५ दागाका ४६ वर्षीया देवी गुरुङ  खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो ।

२०० मिटर तल खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरुष भिरबाट लडेर बेपत्ता भएका छन् । दसैँको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शङ्कर परियार भिरबाट लडेर बेपत्ता भएका हुन् । 

यता थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ । बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ । 

यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको थियो भने दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो । आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको छ । 

घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो । प्रहरी नायव उपरीक्षक रुपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया