काठमाडौं - फ्लोरिकल्चर एशोसिएन नेपालले कार्तिक १२ गतेबाट १५ गतेसम्म जावलाखेलको खेल मैदान ललितपुरमा ‘१४ औं गोदावरी पुष्प प्रदर्शनी २०७८’ आयोजना गर्ने भएको छ । उक्त मेला “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरीपरी” भन्ने नाराका साथ आयोजना गर्न लागिएको हो ।
मेला संयोजक तथा एसोसिएनका उपाध्यक्ष सिताराम पन्तले धेरै प्रकारका गोदावरी फूल बिरुवाहरु एकै ठाउँमा प्रदर्शित हुँदा उपभोक्ताको आवश्यकता परिपूिर्त गर्ने सहज हुने, पुष्प व्यवसायीहरुलाई हौसला प्रदान गर्न र व्यवसायिहरुबीच प्रतिशपर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउने उद्धेश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिए ।
साथै यस प्रकारको मेला प्रदर्शनीको आयोजनाबाट पुष्प प्रेमी उपभोक्ता बढ्न जाँदा बजार विस्तारमा थप टेवा पुग्ने पनि संयोजक पन्तले बताए । सो मेलामा ४४ वटा व्यवसायिक स्टल र ४ वटा सूचनामूलक गरी कुल ४८ वटा प्रदर्शनी कक्षहरु तयार गरिने छ ।
संयोजक पन्तका अनुसार उक्त मेलामा सहभागी भएका नसर्री व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ प्रतिसपर्धा गराई एक स्टललाई नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ ।
यसका साथै सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनको फूलको बिरुवाहरु समेत प्रदर्शनमा समावेस गराइने जनाइएको छ । मेलामा ३५ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन साथै ५० लाखको व्यवसायीक कारोबार हुने अपेक्षा रहेको एशोसिएनले जनाएको छ ।
प्रतिक्रिया