ताप्लेजुङ - नेपाल वायुसेवा निगमले काठमाडौं–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेकोमा निगमले तीन उडान कटौती गरेको हो ।
ताप्लेजुङस्थित नेपाल वायुसेवा निगमका स्टेसन इन्चार्ज लोकन्द्र लिम्बूका अनुसार निगमले तीन उडान कटौती गरेको छ । अब साताको एकदिन बुधबार मात्र उडान गर्नेगरी निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएको स्टेसन इन्चार्ज लिम्बूले बताए ।
यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो । निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि टिकट गरेका करिब ७० जना यात्रु अलपत्र परेका छन् ।
यात्रुको चाप भइरहने जिल्लाको उडान कटौती गर्नाले धेरै यात्रु हवाई सुविधाबाट वञ्चित भएका छन् । ताप्लेजुङ पूर्वको पर्यटकीय जिल्ला भएकाले पनि यहाँ अधिक यात्रु हुने गरेका छन् ।
काठमाडौं–ताप्लेजुङ मात्र नभई ताप्लेजुङ–विराटनगरसमेत उडान सञ्चालन गर्नुपर्ने माग भइरहेका बेला उडान कटौती गर्नु यात्रुलाई हवाई सेवाबाट बञ्चित गर्ने कार्य भएको जिल्लावासीले बताएका छन् ।
प्रतिक्रिया