काठमाडौं - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । यूएईको सारजाहमा गएराति भएको खेलमा पाकिस्तानसँग न्युजिल्याण्ड ५ विकेटले पराजित भएको हो ।
न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा मोहमद रिजवानले ३३, आसिफ अलीले २७, शोयब मलिकले २६, फखर जमान, मोहमद हाफिज र इमाद वासिमले ११–११ रन जोडे । कप्तान बाबर आजमले भने ९ रन मात्र जोड्न सके ।
न्युजिल्याण्डका लागि इश सोधीले २ तथा मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १र१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्य्ल मिचेलले २७र२७ रन जोडे भने कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ तथा ग्लेन फिलिप्सले १३ रन बनाए ।
पाकिस्तानका हरिस राउफले ४ विकेट लिँदा शहिन साह अफ्रिदी,इमाद वासिम र मोहमद हाफिजले १र१ विकेट लिए । जितसँगै २ खेलमा ४ अंक जोडेको पाकिस्तान समूह २ को शीर्ष स्थानमा छ । पाकिस्तानले यस अघि भारतलाई १० विकेटले हराएको थियो । हिजै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो ।
यस्तै आइतबारको खेलमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भयो । पाकिस्तानले टी–२० विश्वकपमा केवल आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई हराएन मात्र, सानदार जित निकाल्यो । यसअघि भारतले यी दुई देशबीचको हरेक विश्वकप खेल जितेको थियो ।
हारेसँगै भारतका केही खेलाडीले समर्थकको गाली पनि खाए । पाकिस्तान र भारतबीच लामो समयदेखिको विवाद खेलमा पनि देखिने गरेको छ । आइतबार पनि त्यस्तै भयो । प्रतियोगितामा पाकिस्तानको जितमा खुसी मनाउने भारतकी एक शिक्षिकाले जागिर नै गुमाउनु परेको छ ।
राजस्थानको उदयपुरमा रहेको एक निजी विद्यालयमा पढाउने शिक्षिकालाई विद्यालयले निष्कासन गरेको हो । उनले ह्वाटस्एपमा पाकिस्तानी खेलाडीको तस्बिर राख्दै ‘जित गए’, ‘वी वन’ लेखेकी थिइन् ।
प्रतिक्रिया