काठमाडौं, केही दिन अघि मात्र भारतीय बजारमा सार्वजनिक भएको हिरोको फोर भल्वयुक्त एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० फोरभी करिव ६ महिना भित्रै नेपाली बजारमा उपलब्ध हुने भएको छ ।
हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले ६ महिना भित्रै यसका साथै अन्य मोडलहरु समेत नेपाली बजारमा उपलब्ध हुने बताएको छ ।
भारतीय बजारमा यसको मूल्य १ लाख २८ हजार भारु तोकिएको छ, जुन हाल प्रचलित स्ट्यान्डर्ड एक्सपल्स २०० भन्दा ५ हजार भारु बढी हो । हाल उपलब्ध एक्सपल्स २०० को मूल्य नेपालमा ४ लाख २ हजार रुपैयाँ छ । एक्सपल्स ४भी नेपाली बजारमा उपलब्ध भएमा यसको मूल्य ४ लाख १० हजार भन्दा बढी नै पर्ने अनुमान गर्न सकिन्छ ।
नयाँ एक्सपल्स २०० ४भीले १८.८ पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ, जुन हाल प्रचलित एक्सपल्स भन्दा बढी हो । हालको स्ट्यान्डर्ड एक्सपल्स २०० ले १७.८ बीएचपी पावर र १६.४५ एनएम टर्क जेनेरेट गर्छ ।
इन्ट्री लेवलको सो एड्भेन्चर मोटरसाइकललाई पावरफुल बनाउनका लागि अन्य धेरै अपडेट समेत गरिएको छ । यसमा अपडेटेड ७ फिन आयल कुलर र सुधारिएको ट्रान्समिसन प्रयोग गरिएको छ । त्यसैगरी एलईडी हेडल्याम्प समेत छ ।
यो मोटरसाइकलमा ब्लुटुथ सपोर्ट र टर्न बाई टर्न नेभिगेसन सहितको फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, सिंगल च्यानल एबीएस, लङ ट्राभल सस्पेन्सन, ड्युअल परपोज टायर आदि उपलब्ध छ ।
प्रतिक्रिया