प्रिमियर लिगमा लिभरपुल र म्यानचेष्टर युनाइटेड भिड्दै, लिग वानमा मार्सेविरुद्ध पिएसजी

४ बर्ष अगाडि

एजेन्सी - आज विश्व खेलकुदमा महाभिडन्त हुँदैछन् । जसलाई विश्वभरका दर्शकहरु चासोका साथ हेर्नेछन् । प्रिमियर लिगमा लिभरपुल र म्यानचेष्टर युनाइटेड, लिग वानमा पिएसजी र मार्से तथा इटालियन सिरि एमा इन्टर र युभेन्ट्सले एक अर्काको सामना गर्नेछन् ।

युनाइटेड र लिभरपुलबीचको खेल नेपाली समय राती ९ः१५ बजे ओल्ड ट्राफडमा सुरु हुनेछ । लिभरपुल फर्ममा छ भने युनाइटेडमाथि विस्तारै दबाब बढ्दै गएको छ । क्रिस्टियानो रोनाल्डोको पूनरागमनपछि उत्साहित युनाइटेडले दमदार सुरुवात गरेपनि त्यसलाई निरन्तरता भने दिन सकेको छैन । 

१८ अंकका साथ लिभरपुल तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड १४ अंकसहित छैटौं स्थानमा छ । शीर्षताको दौडमा फर्कनका लागि युनाइटेडलाई आजको खेल जित्नु पर्ने हुनेछ ।

यस्तै नेयमार र केलियन एमबाप्पे जस्ता सुपर स्टार रहेको पिएसजीमा यो सिजन मेस्सी पुगेपछि टोली थप मजबुद भएको विश्वास गरिन्छ । सुरुवाती खेलमा औसत प्रदर्शन गरेको मेस्सी विस्तारै लयमा देखिन थालेका छन् । एमबाप्पेले लिग वानमा उच्च प्रदर्शन गरिरहेको छ । 

२७ अंकका साथ पिएसजी शीर्षस्थानमा छ भने १७ अंक जोडेको मार्से तेस्रो स्थानमा छ । अंक दूरीलाई घटाउनका लागि मार्सेले पिएसजीलाई हराउनुपर्ने हुन्छ । खेल नेपाली समय अनुसार राती १२ः३० बजे सुरु हुनेछ ।

साथै साविक विजेता समेत रहेको इन्टरको प्रदर्शन ठिकै रहेपनि रोनाल्डोले युभेन्ट्स छाडेयता टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन । च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा निकालिरहेको युभेन्ट्स सिरि एको अंक तालिकामा भने १४ अंकसहित सातौं स्थानमा रहेको छ । 

इन्टर भने १७ अंकसहित तेस्रो स्थानमा रहेको छ । इन्टरको मैदानमा खेल नेपाली समय अनुसार राती १२ः३० बजे सुरु हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया