काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका थिए ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प ८४७२ नंको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
प्रतिक्रिया