काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन् । नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मतका लागि आज मतदान हुने कार्यतालिका रहेको छ । एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा मुख्यमन्त्री बनेका हुन् ।
केन्द्रमा सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार हुन् ।
यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भने कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्नुपर्ने बताएका छन् । कोइरालाले प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालालाई निर्वाचित गराउन आग्रह गरेका हुन् ।
केन्द्रीय सहमतिअनुसार प्रदेश १ र वाग्मती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भनिएको थियो । तर वाग्मती प्रदेशमा पनि कांग्रेस र माधव नेपालको समाजवादी पार्टीले आधाआधा कार्यकाल मुख्यमन्त्री चलाउने सहमति भइसकेको छ ।
केन्द्रीय सहमतिलाई प्रदेशमा नमान्दा प्रदेश १ मा वाग्मती दोहोरिने हो कि भन्दै नेताहरुले आशंका गरेका छन् ।
प्रतिक्रिया