काठमाडौं - बेमौसमी वर्षाका कारण आएको बाढी र पहिरोले लुम्बिनी प्रदेशमा ५ अर्ब रुपैयाँ बराबरको धान लगायतका बालीनाली नोक्सान भएको छ ।
मुख्यमन्त्री कुलप्रसाद केसीको सचिवालयले विज्ञप्ति जारी गर्दै वर्षाका कारण प्रदेशमा धान लगायत अन्य खाद्यान्न बालीमा साढे ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाएको हो ।
असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको भारी वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बर्दियाको राजापुर नगरपालिकामा एक हजार २७ र गेरुवा गाउँपालिकामा २ सय १० घर परिवार प्रभावित भएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशमा ३६ हजार ४ सय ८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५७६ हेक्टरको नकाटेको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान हुँदा ४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँको बाली नष्ट भएको मुख्यमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै तीन दिन परेको वर्षापछि बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशमा ३० जनाले ज्यान गुमाएका छन् । २२ जना अझै वेपत्ता छन् । पहिरोको कारण बझाङमा १२, डोटीमा ६, डडेल्धुरामा २ घर पूर्णरुपमा भत्किएका छन् ।
महाकालीमा आएको बाढीका कारण भीमदत्तनगरपालिका र दोधरा चाँदनी नगरपालिकाका ५४३ परिवार प्रभावित भएका छन् । जसमा ३ सयभन्दा बढी भीमदत्तनगरपालिका र दोधरा चाँदनी नगरपालिकाका छन् ।
यस्तै वाजुरामा दुई, कैलालीमा २१६ परिवार प्रभावित भएका छन् । केही जिल्लाको विवरण प्राप्त हुन सकेको छैन ।
प्रतिक्रिया