८७ प्रतिशत बढ्यो जनप्रतिनिधिको तलब

७ बर्ष अगाडि

मकवानपुर– प्रदेश ३ सरकारले प्रदेश मातहतका जनप्रतिनिधिको खाइपाइ आएको तलबमानमा ८७ दशमलव ५ प्रतिशतसम्म वृद्धि गरेको छ ।  बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा बढाउने निर्णय गरेसँगै तलब ८७ दशमलव ५ प्रतिशतसम्म बढेको हो ।

केन्द्रीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अघि सारिरहेका बेला प्रदेश सरकारको यो निर्णय आएको हो । बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरूको सेवा सुविधा एकैपटक झन्डै दोब्बर वृद्धि गरेको हो । 

निर्णयअनुसार ८ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब मासिक १५ हजार पाउनेछन् । यो वृद्धि ८७ दशमलव ५० प्रतिशत हो ।सरकारको यो निर्णयसँगै उपमहानगरका सदस्यहरूले अब मासिक १३ हजार रुपैयाँ तलब पाउनेछन् । यसअघि उनीहरूले ७ हजार ५ सय रुपैयाँ तलब पाउँदै आएका थिए । उपमहानगरपालिका सदस्यको तलब भने ७३ दशमलव ३३ प्रतिशतले बढेको छ ।

नगरपालिका सदस्यहरूले भने अब मासिक ११ हजार रुपैयाँ पाउनेछन् । यसअघि उनीहरूले ७ हजार रुपैयाँ बुझ्दै आएका छन् । यो वृद्धि ५७ दशमलव १४ प्रतिशत हो । सबैभन्दा कम तलब भने गाउँ कार्यपालिका सदस्यको बढेको छ । उनीहरूको भने जम्मा १६ दशमलव ६७ प्रतिशत तलब वृद्धि भएको छ । गाउँपालिका सदस्यहरूले ७ हजार रुपैयाँ पाउनेछन् । यसअघि ६ हजार रुपैयाँ तलब थियो ।राजधानी दैनिकमा विस्तृतमा खबर छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया