लामो समयदेखि लगातार ओरालो लागेको सेयर बजार बुधबार सकारात्मक दिशामा फर्किएको छ । बुधबार नेप्से सूचक ६०.५६ अंकले बढेर २५७१.६६ विन्दुमा पुगेको हो।
आज नेप्सेको सबै सूचकमा हरियाली छाएको छ । बैंक ३२.६२, ट्रेडिङ ८९.९७, होटल एण्ड टुरिजम ९१.७५, डेभलपमेण्ट बैंक १४१.४६ , जलविद्युत ४.३१, फाइनान्स ५.८१, निर्जीवन बीमा २४८.१, उत्पादन १२२.८३, अन्य ६३.३४, माइक्रोफाइनान्स ९९.०१, लाइफ इन्स्योरेन्स १८९.६९, म्युचुअल फण्ड ०.२१, इन्भेस्टमेण्ट समूह १.४९ अंकले बढेका छन् ।
बुधबार मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । जलविद्युत क्षेत्र १० प्रतिशतले बढ्न पुगेको छ । त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । सो क्षेत्र ४.९६ प्रतिशतले घटन् पुगेको छ ।
बैंकहरुले कात्तिक १ बाट बढाएर लागू गरेको ब्याजदर फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएसँगै सेयर बजार सकारात्मक दिशामा फर्किएको विश्लेषकहरु बताउँछन् ।
आइतबार बैंकहरुले निक्षेपको ब्याजदर नै साढे ११ प्रतिशतभन्दा माथि पुर्याउँदै सूचना निकालेपछि दुई दिनमै सेयर बजार सूचक नेप्से करिब डेढ सय अंकले घटेको थियो। तर ब्याजदर वृद्धिलाई उल्ट्याउने गरी मंगलबार बेलुका जारी राष्ट्र बैंकको निर्देशनपछि कारोबार बढेको हो ।
गत आइतबार वाणिज्य बैंकहरुले ब्याज बढेको सूचना निकालेको भोलिपल्टैबाट पहिलो मिनेटदेखि नै सेयर बजारमा लगातार पहिरो जान थालेको थियो।
बैंकहरुले बढाएको ब्याजदरमा लगामको निर्देशन जारी गरेपछि बुधबार नियमित कारोबार सत्रको पहिलो १० मिनेटमै सेयर बजार ६० अंकले बढेको थियो। सोअघि प्रिओपनिङमै ११ अंकले बढेको बजार सूचक नेप्से नियमित कारोबार सुरु भएको पहिलो ८ मिनेटमै करिब ८० अंकसम्म उक्लिँदा सूचक करिब २५९१ विन्दुसम्म चढेको थियो।
सोपछि भने बजारको आक्रामक उछाल केही संयमित हुँदा १२ बजेर १० मिनेटसम्म केही उतारचढाव देखिएको भए पनि सोपछि भने अन्तिमसम्मै स्थिरप्रायः रहँदै नेप्से २५७१।६६ विन्दुमा पुगेर बजार बन्द भएको छ।
यस क्रममा १७९ कम्पनीको सेयरको मूल्य उकालो लागेको छ। यसले लामो समयदेखि बजार ओरालो लाग्दा नेटवर्थ गुमाएका लगानीकर्ताहरुलाई केही राहत महशुस गराएको छ।
प्रतिक्रिया