बाढी पहिरोमा ३२ जनाको मृत्यु, ३५ जना बेपत्ता

४ बर्ष अगाडि

बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर ३२ जनाको मृत्यु भएको छ । घटनामा ३२ जना बेपत्ता र १२ जना घाइते रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

डोटीमा ७, धनकुटामा ६, पाँचथरमा ५, हुम्लामा ४, बैतडीमा ३,  इलाममा  ३, सुनसरीमा  २, डडेलधुरामा एक र उदयपुरमा १ जना  ३२ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । 

 सुदुरपश्चिम

डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र दुई घाइते छन् । प्रहरीका अनुसार जोरायल गाउँपालिका–३ मा जोगी सार्कीको घर पहिरोले पुरिँदा ६३ वर्षीय उनको मृत्यु भएको छ । वडा नं– ४ मा शेरबहादुर विकसहित उनको परिवारका ४ जनाको मत्यु भएको प्रहरीले जनाएको छ ।

शिखर नगरपालिका–११ मा ३६ वर्षीया मन्धरा बलायर बाटोमा हिँडिरहँदा माथिबाट ढुंगासहितको पहिरो खसेको छ । घटनामा घाइते उनको उपचारका क्रममा मृत्यु भएको छ । सायल गाउँपालिका ५ मा हिरुवा लोहारको मृत्यु भएको छ । उनको घरमा दुई जना घाइते छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार जारी छ ।

बैतडीको मंगलबार राम पार्कीको घर भत्किँदा दुई महिला र एक बालकको पुरिएर मृत्यु भएको छ ।  बैतडीकै सुर्नैया गाउँपालिका-५, विष्टपालीमा पहिरो जाँदा ७१ वर्षीया पारुदेवी महराको मृत्यु भएको छ । घटनामा दुई जना घाइते छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।

डडेलधुरामा पनि पहिरोले एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार अविरल वर्षाका कारण सोमबार राति घर भत्किएर डडेलधुराको गन्यापधुरा गाउँपालिका –१ भत्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो । 

बझाङ्गमा पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका–४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ । गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना अझै बेपत्ता छन् ।

कर्णाली
बाढी पहिरोले कर्णालीमा ५ जनाको मृत्यु भएको छ । कालिकोटमा पहिरोका कारण घर भत्किँदा  महाबै–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ ।  स्मृतससँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी भने घाइते छन् । पहिरोले सोही गाउँका अन्य ५ घर पनि भत्किएका छन् भने २५ घर जोखिममा छन् । 

हुम्लाको खार्पुनाथ गाउँपालिका-५, खरेलमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् । गाउँमा पहिरो जाँदा ६ जना बेपत्ता भएको खबर प्रहरीलाई पुगेको थियो । खोजतलासका क्रममा चार जनाको शव भेटिएको छ । दुई जनाको खोजतलास जारी छ ।

प्रदेश १
त्यस्तै धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पहिरोमा परेर भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये उषा, सञ्जाल र लीलाको अवस्था चिन्ताजनक छ ।

अविरल वर्षासँगै गएको पहिरामा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् । पाँचथरको सदरमुकाम फिदिम, मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा–छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । उनका अनुसार मिक्लजुङ,फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको ज्यान गएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन् ।

सुनसरीको धरानमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले पुरिँदा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो । 

त्यस्तै इलामको फाकफोकथुम गाउँपालिका–१ ठेङ्गेपुरमा नगबहादुर शेर्माको घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । 

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवासमेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए। 

४ बर्ष अगाडि

प्रतिक्रिया