अविरल वर्षा : देशभर ३५ जनाको मृत्यु हुँदा २६ वेपत्ता, उत्तराखण्डमा ४६ को मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ३५ जनाको मृत्यु भएको छ । २६ जना वेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेशमा मात्रै १४ जनाको मृत्यु भएको छ । 

यस्तै धनकुटामा ६ जना, हुम्लामा ६ जना, सुनसरीमा २ जना, सिन्धुली र कालीकोटमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर बझाङमा २४ र पाँचथरमा २ जना वेपत्ता भएका छन् ।

सुदूरपश्चिमको डोटीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनासहित ९ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पहिरोमा च्यापिएर जोरायल गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीय पवित्रा विक र १६ वर्षीय रविन विकको मृत्यु भएको हो । जोरायल गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको छ ।

डोटीकै सायल गाउँपालिका–६ खातिवाडामा घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर दिलबहादुर कुन्जेडाका १४ वर्षीय  छोरा सागर कुन्जेडा र ११ वर्षीय छोरा आशिस कुन्जेडाको मृत्यु भएको छ। डोटीकै शिखर नगरपालिका वडा नम्बर ११ कि ३५ वर्षीय मन्धरा बलायरको पहिरोको ढुङ्गा लागेर मृत्यु भएको छ ।

सुदूरपश्चिमको बैतडीमा ३ र डडेल्धुरामा २ जनाको पनि पहिरोमा पुरिएर ज्यान गएको छ । बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । डडेल्धुराको न्यापधुरा गाउँपालिका–१ भात्काडामा पहिरोले घर बगाउँदा ३२ वर्षीय विष्णु अवस्थीको र डडेल्धुरामा खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको हो ।

यस्तै भारतको उत्तराखण्डमा पनि अबिरल वर्षापछिको बाढी र पहिरोमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा अझै केही हराइरहेका छन् । बाढी पहिरोका कारण दर्जनौ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन भने पुल तथा संरचना भत्किएका छन् ।

पर्यटकहरुको महत्वपूर्ण गन्तव्य मानिने उत्तराखन्डमा आएको पछिल्लो बाढीलाई विज्ञहरुले जलवायु परिवर्तन र जथाभावी निर्माण भएका संरचनासँग जोडेका छन् ।

बाढीले भारतको दक्षिणी राज्य केरलासमेत प्रभावित छ । केरलामा बाढीबाट २६ जनाको मृत्यु भइसकेको छ । दुबै राज्यमा यो वर्ष अत्यधिक वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ ।

केरलामा यो वर्ष ४५३ दशमलब ५ मिलिमिटर वर्षा भएको छ । गत वर्ष १९२ दशमलब ७ मिलिमिटर वर्षा भएको थियो । सामान्यतया अक्टोबरमा ३० मिलिमिटर पानी पर्ने उत्तराखण्डमा पछिल्लो २४ घन्टामा मात्र १२२ दशमलब ४ मिलिमिटर वर्षा भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया