खोलाले जिप बगाउँदा हामफालेर ज्यान जोगाए यात्रुले, प्रदेश १ मा २२ जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - खोलाले जिप बगाउँदा दाङमा पाँच जनाले हामफालेर ज्यान बचाएका छन् । पाँच जना यात्रु सवार जिप गढवा गाउँपालिका वडा नं. २ महदेवा स्थित खौरा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बाढीले जिप बगाउँदा बगाउँदै यात्रुहरूले हामफालेर ज्यान बचाएकाले मानविय क्षति हुन पाएन । मंगलबार राति करिब ११ बजेतिर बा १७ च ५३४४ नम्बरको जिप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

यस्तै बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका-१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया