आज पनि यी ठाउँमा हुँदैछ वर्षा, देशभर १६ जनाको मृत्यु भएको पुष्टि

४ बर्ष अगाडि

काठमाडौं - देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले अहिले नेपालमा बदली तथा वर्षा भएको हो ।

अहिले देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। प्रदेश १ का थोरै र प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै वर्षाका कारण आएको बाढी पहिरोमा परेर १६ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयकाअनुसार धनकुटामा ६, पाँचथरमा ४ इलाम र डोटीमा २, कालिकोट र डडेल्धुरामा एकरएक जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेर केही हराइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । यस्तै लगातारको  वर्षापछि पहिरोले ४ वटा घर पूर्ण रुपमा भत्किएका छन् । झण्डै पाँच सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

यस्तै, पहिरोमा परेर हुम्लाको खार्पुनाथ–५ खर्पेल गाउँमा ६ जना पुरिएका छन् ।​ खर्पेल गाउँमा रहेको बिचदउडामा रहेको धनबिरे शाहीको घर पहिरोले पुरिएको हो । हिजो रातिको समय भएकाले उद्धार हुन नसकेपछि अहिले बिहानदेखि खोजी कार्य सुरु गर्ने तयारी भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया