थानीमाईमा १८ फूलको डोली भित्र्याइयो, २ करोड ६० लाख सहयोग भित्रियो

४ बर्ष अगाडि

काठमाडौं - तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा १८ फूलको डोली भित्र्याइएको छ । 

प्रत्येक वर्ष कात्तिक महिनाको मङ्गलबार सो मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले मङ्गलबार दुई हजारभन्दा बढी भक्तजनले थानीमाईको दर्शन गरेको जानकारी दिए । 

कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको  अध्यक्ष थापाले बताए । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ ।

मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामा समेत भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औँशीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । 

दुई करोड साठी लाख सहयोग भित्रियो
प्रवासी म्याग्देलीबाट सामाजिक कार्यका लागि रु दुई करोड ६० लाखभन्दा बढी सहयोग भित्रिएको छ । रोजगार, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा विदेशिएकाले म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० मार्फत पछिल्लो दुई वर्षका अवधिमा सो सहयोग जन्मथलोमा भित्र्याएका हुन् । 

मोनाको मङ्गलबारदेखि बेनीमा सुरु भएको चौथो महाधिवेशनमा अध्यक्ष ओमनारायण जुग्जालीले सन् २०१९ देखि २०२१ को हालसम्म रु दुई करोड ६० लाखभन्दा बढी नगद तथा जिन्सी सहयोग भित्रिएको जानकारी दिए । 

मोनाले रु दुई करोड जुटाएर वि.सं २०७७ को बर्खामा पहिरोले भत्काएका ४० घर पुनःनिर्माण गरेर गत असारमा सम्बन्धित पालिकामार्फत पीडितलाई हस्तान्तरण गरेको थियो । धौलागिरिमा १४, मालिकामा १०, अन्नपूर्ण, मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा चार÷चार तीनकोठे, शौचालय र खानेपानी सुविधासहितको घर बनाइदिएका हुन् । 

तत्कालीन अवस्थामा पहिरो प्रभावितलाई २० बोरा चामल, १५०/१५० थान पाल र कम्बल वितरण गरेको थियो । रु बीस लाख २९ हजार ५११ जुटाएर मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेलाई साउदीको जेलमुक्त बनाई जहाज भाडाको समेत व्यवस्था गरी घर पठाएको मोनाले विदेशमा समस्यामा परेका म्याग्देलीलाई सघाउन स्थापना गरेको ‘आपत्कालीन राहत कोष’ मा हालसम्म रु १६ लाख ६६ हजार २०८ सङ्कलन भएको महासचिव विक्रम कार्कीले जानकारी दिए । 

कतारमा निधन भएका मालिका–२ रुमका निरप्रसाद कामी, मङ्गल दर्जी र नेदरल्याण्डमा दिवङ्गत भएकी लक्ष्मी भट्टचनका परिवारलाई रु पचास÷पचास हजारका दरले सहयोग गरेको छ । दक्षिण कोरियामा ज्यान गुमाएका तीन म्याग्देलीको दाहसंस्कारका लागि रु पचास हजार र साउदीमा रोजगारी गुमाएर समस्यामा परेका पूर्णचन्द्र जुग्जालीलाई रु ५६ हजार ३०४ सहयोग गरेको छ । 

महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारका लागि ७० थान थर्मल गन र एक हजार थान केएफ ९४ मास्क वितरण गरेको मोनाले रु १४ लाख ७९ हजार २७० जुटाएर कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने २२ थान अक्सिजन कन्टनटे«टर उपलब्ध गराएको थियो । 

हिंसा प्रभावित महिला तथा बालबालिकालाई सघाउन रु एक करोडको अक्षयकोष स्थापना गरेको मोनाको अघिल्लो कार्यसमितिले बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य सङ्घको लागत साझेदारीमा रु ८० लाख लगानीमा बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग बनाएका र ४० वटा शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय स्थापना गरेका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया