पहिरोमा परेर बझाङमा २४ जना बेपत्ता, दुई सय भन्दा धेरै मानिस विस्थापित

४ बर्ष अगाडि

बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् । थलारा गाउँपालिका–४ डिक्लामा  गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट खसेको पहिरोले पुरेर २४ जना बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा रहेको र उनका माइला छोरा काले सार्की मात्र हाल सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । 

तल्लो डिक्ला र माथिल्लो डिक्ला भन्ने गाउँ नै पहिरोको जोखिममा परेपछि स्थानीय जनता गाउँका १ सयभन्दा बढी स्थानीय जनता त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिइरहेका छन् । 

उद्धारका लागि प्रहरी टोली डिक्ला पुगे पनि पहिरो खसिरहेका कारण उद्धार हुन नसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । 

आइतबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण जयपृथ्वी नगरपालिका – १ पिमी गाउँमा पनि ६० परिवार विस्थापित भएका छन् । अहिले पनि पानी पर्न नरोकिएको र लगातार पानी परेमा गाउँ नै बगाउने अवस्था रहेको स्थानीय उत्तम सिंहले बताए।

यस्तै लगातारको वर्षासँगै सदरमुकाम नजिक भएर बग्ने डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल बगाएको छ । पुल नजिक रहेका ५ वटा पक्की घर पनि बगाएको र बजारका अरु घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया