बढ्यो गाडी भाडा, अब प्लेनमा जस्तै गाडीमा पनि सामानको भाडा तिर्नुपर्ने

४ बर्ष अगाडि

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारीसाधनमा २३ प्रतिशतले भाडा वृद्धि गरेको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले १ कात्तिकदेखि कार्यान्वयन हुने गरी घटस्थापनाको एक दिनअघि भाडा बढाउने निर्णय गरेको भएपनि हालैमात्र सार्वजनिक भएको हो । 

मन्त्रालयका अनुसार काठमाडौंबाहेक अन्य जिल्लामा २३ प्रतिशत भाडा बृद्धि भएको छ भने काठमाडौं उपत्यकाको हकमा यात्रुले पार गर्ने दूरीअनुसार भाडा तय गरिएको छ । काठमाडौंमा चढेको ठाउँदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ भाडा लाग्नेछ । यसअघि चढेको ठाउँदेखि चार किलोमिटरसम्म १४ रुपैयाँ र चढेको ठाउँदेखि पाँच किलोमिटरसम्म १६ रुपैयाँ भाडा थियो । यसअनुसार २५ देखि २९ प्रतिशतसम्म भाडा वृद्धि गरी कार्यान्वयनमा ल्याएको छ । 

त्यस्तै, चढेको ठाउँदेखि १० किलोमिटरसम्मका लागि २३ रुपैयाँ र १५ किलोमिटरसम्मका लागि २७ रुपैयाँ तोकिएको छ । यसअघि १० किलोमिटरसम्म २१ रुपैयाँ र १६ किलोमिटरसम्म यात्रा गर्दा २५ रुपैयाँ भाडा तिर्नुपर्थ्यो । त्यसबाहेक २० किलोमिटरसम्मका लागि ३० रुपैयाँ र २० किलोमिटरभन्दा बढीका लागि ३५ रुपैयाँ तोकिएको छ । यसअघिको व्यवस्थाअनुसार १९ किलोमिटरसम्म २६ र त्यसभन्दा बढीलाई २७ रुपैयाँ भाडा थियो । 

नयाँ भाडादरअनुसार बागमती प्रदेशमा यात्रुले हवाइजहाजमा जस्तै गाडीमा पनि सामानको समेत भाडा तिर्नुपर्ने भएको छ । यात्रुले १५ केजीसम्म सरसामान र गुन्टा निःशुल्क बोक्न पाउने र त्योभन्दा बढी १० केजीसम्म प्रतिकेजी पाँच रुपैयाँका दरले भाडा तिर्नुपर्ने निर्णय गरिएको छ । तर, सामान बोक्दा सवारीसाधन उत्पादक कम्पनीले तोकेको सवारीसाधनले बोक्न सक्ने क्षमताभन्दा बढी राख्न पाउनेछैनन् ।  

यस्तै, बढेको भाडादरमा डिलक्स सुविधासहितको सेवा प्रदान गर्ने सार्वजनिक यात्रुबाहक सवारीसाधनले २० प्रतिशतसम्म भाडा थप गरी लिन सक्ने व्यवस्था गरिएको छ । तर, यातायात व्यवस्था कार्यालय र सवारी परीक्षण कार्यालयबाट त्यो सवारीसाधनमा डिलक्स सुविधा भएको प्रमाणित गरिएको हुनुपर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया