काठमाडौं - हामीले दशैंमा ठूलाबडाबाट टिका थापेर दक्षिणा प्राप्त गरेजस्तै चीनमा नयाँ वर्षलगायतका चाडहरुमा रातो खाम (रेड इन्भेलोप) मा केही पैसा राखेर बाँड्ने चलन छ ।
त्यसलाई उनीहरु ‘होङपाव’ भन्ने गर्दछन् । प्राय विजोर अंकमा नयाँ नोट राखेर रातो खाममा दिने हुनाले त्यसलाई होङपाव भनिएको हो । चिनियाँ भाषामा ‘होङ’ को अर्थ रातो र ‘पाव’ को अर्थ खाम हो ।
परिवारमा भए परिवारको वरिष्ठ व्यक्तिले रेड इन्भेलोप बाँड्ने गर्दछन् भने कार्यालयहरुमा भए वरिष्ठ कर्मचारीले बाँड्ने गर्छन्। बिजोर नम्बरको सबैभन्दा ठूलो अंक ९ हो । ९ लाई चिनियाँ भाषामा ‘च्यु’ भनिन्छ । ‘च्यु’ को अर्को अर्थ ‘लामो समय’ भन्ने पनि हुन्छ। रेड इन्भेलप आशिर्वादको रुपमा दिने हुनाले चिरायु होस् भन्ने अर्थमा खाम भित्रको पछिल्लो अंक विजोर हुने गरेको हो ।
चिनियाँ समाजमा विवाह मिति तय गर्दा पनि सकेसम्म विजोर अंक नै रोज्ने गर्दछन् । चिनियाँले सबैभन्दा मन नपराउने अंक ४ हो । ४ लाई चिनियाँ भाषामा ‘सु’ भनिन्छ। यसको अर्को अर्थ मर्नु पनि हो । भौतिक रुपमा जतिसुकै प्रगति गरे पनि चिनियाँहरु यस्ता रुढिवादी परम्परामा विश्वास गर्ने खालका छन् ।
सिम कार्डको नम्बर छान्दा होस् वा गाडी नम्बर, सकेसम्म ४ अंक नभएको छान्छन् भने ९ र ८ अंकलाई बढी प्राथमिकतामा राख्छन् । ८ चाँहि जोर अंक भए पनि यसलाई भने राम्रो अंक नै मान्छन् । ८ लाई चिनियाँ भाषामा ‘पा’ भनिन्छ। ‘पा’ भनेर बोल्दा ‘फा’ जस्तै सुनिन्छ ।
‘फा छाई’ भन्दा समृद्ध हुनुहोस् भन्ने अर्थ लाग्छ । ९ र ८ अंक बढी भएको सीम कार्ड र गाडी अझ प्रिमियम मूल्यमा बिक्री हुन्छ । मेरो लगानी
प्रतिक्रिया