५ बीमा कम्पनीहरुले ३ अर्ब बढीको आईपीओ निष्काशन गर्दै, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - नयाँ सञ्चालनमा आएका १० जीवन बीमा कम्पनीहरुमध्ये पाँचले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेका छने भने बाँकी पाँचले भने अहिलेसम्ममा शेयर निष्काशन गरेका छैनन् ।

नयाँ जीवन बीमा कम्पनीहरुमा ज्योति लाइफ, युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरिसकेका छन् । रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी थालेका छन् ।

आईपीओ निष्काशन गर्न बाँकि रहेका पाँच कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर निष्काशन गर्नेछ ।

सिटिजन लाइफ इन्स्योरेन्स
नयाँ जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित रहेको जनाउँछ । कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स
महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव तेस्रो वार्षिक साधारण सभाले पारित गरिसको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

रिलायवल लाइफ इन्स्योरेन्स
रिलायवल लाइफ इन्स्योरेन्सले भने आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगिसकेको छ । कम्पनीले प्रिमियम सहित प्रति कित्ता २१२ रुपैयाँका दरले ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । यद्यपी कम्पनीले आईपीओ निष्काशनको अनुमति भने पाएको छैन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफलाई पनि प्रिमियममा आईपीओ निष्काशन बीमा समितिले अनुमति दिएको छ । तर कति मूल्यमा शेयर निष्काशन गर्ने भन्ने विषयमा निर्णय भएको छैन् । सन नेपाल लाइफले आईपीओको रेटिङ्ग समेत गराइसकेको छ । 

सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ । जसले औसत भन्दा कमजोर वित्तीय अवस्था रहेका कम्पनी भन्ने जनाँउछ । सन नेपाल लाइफले गत फागुन ४ गतेको साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया