बसले मोटरसाइकलमा ठक्कर दिदा एकको मृत्यु, सर्पको डसाइबाट एक युवकको मृत्यु

४ बर्ष अगाडि

पूर्व–पश्चिम राजमार्गअन्तर्गत  सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा आज मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ  । 

आफ्नो घरबाट सप्तरीको वीरेन्द्र बजारदेखि उत्तर चुरेजङ्गलमा अवस्थित शनि मन्दिरमा आज पूजा गर्न जाने क्रममा दुर्घटनामा हुँदा उनको मृत्यु भएको छिमेकी धिरज झाले जानकारी दिए । त्यस्तै दुर्घटनामा परेर मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय अमरनाथ यादवको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । 

उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स२प ३३३३ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना५ख ९००० नंको बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक चितवन मारी नगरपालिकाका ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।  

सर्पको डसाइबाट एक युवकको मृत्यु
विषालु सर्पको डसाइबाट आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको रहेको छ ।

उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिनुभयो । दसैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो । अचानक हातमा सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराउनुभएको थियो । 

झारफुक र घरेलु औषधि गरे पनि सर्पको विषले जटिल बनाउँदै लगेपछि आज बिहान उहाँका आफन्तले घतानीलाई जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यता उपचारका क्रममा मृत्यु भएका घतानीको शव आफन्तले बुझेका पनि प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया