काठमाडौं - जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा १४ हजार २९१ वटा बोकाको बलि दिइएको छ । मन्दिरमा महाष्टमी तिथिको राति ८ बजेर ५ मिनेटदेखि करिब ७ घण्टासम्म बिहान ३ बजेर ३८ मिनेटसम्म बलि दिइएको हो ।
गत वर्ष मन्दिरमा ८ हजार ९६८ वटा बोकाको बलि दिइएको थियो। कोरोना महामारीको कारण गत वर्ष बलि दिनेको संख्या कम भएको थियो । राजदेवी मन्दिरमा बोकाको बलि दिन वरपरका क्षेत्र, सीमावर्ती जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट समेत भक्तजनहरु आउने गर्दछन् । बलि चढाए मनोकांक्ष पूरा हुने जनविश्वास छ ।
मन्दिरमा बलि लगायत दशैंके कार्यक्रमको व्यवस्थापन महावीर युवा कमिटीले गर्दै आएको छ । बलि दिन हजारौंको भक्तजन बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए । बोका बलि दिन यस वर्ष चारवटा अस्थायी ठेहा (बलि दिने गर्ने स्थल) राखिएको थियो। प्रत्येक ठेहामा १० जनाको समूहमा बलि दिने स्वयंसेवक परिचालन गरिएको थियो । प्रत्येक ठेहामा प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको थियो ।
कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५०० जना स्वयंसेवक परिचालन गरेको थियो । बलिका लागि प्रतिबोका २०० रुपैयाँ अग्रिम टिकट काट्नु पर्ने र संकलित रकम परिचालन व्यवस्थापन स्थानीय क्लबले गर्ने गरेको छ । बोका बलिबाट मात्र २८ लाख ४८ हजार २०० रुपैयाँ संकलन भएको छ ।
प्रतिक्रिया