नेपाली बजारमा ६ खर्ब ७६ अर्ब रुपैयाँका नोट

४ बर्ष अगाडि

नेपालमा अहिले ६ खर्ब ७६ अर्ब रुपैयाँको नोट चलनचल्तीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । विभिन्न बैंक, वित्तीय संस्था, सहकारी तथा मानिससँग गोजीमा रहेको नगद गरी अहिले उक्त रकम बजारमा रहेको हो। उक्त रकम विभिन्न माध्यममार्फत राष्ट्र बैंकमा फर्किन्छ । राष्ट्र बैंकबाट बाहिरिएको, तर बैंकमा नफर्किएको पैसालाई चलनचल्तीमा रहेको रकममा गनिन्छ । 

राष्ट्र बैंकले आवश्यकता अनुसार पैसा छाप्ने र बजारमा पठाउने गर्छ। बजारको आवश्यकताका आधारमा पैसा पठाउने काम केन्द्रिय बैंकले गर्दै आएको छ। चलनचल्तीमा रहेको रकम घटबढ भइरहन्छ । प्रायजसो आर्थिक वर्षको अन्त्यमा बढी बजारमा पैसा जाने गरेको छ। त्यतिबेला सरकारले बढी खर्च गर्ने र अरु समय कम खर्च हुने गरेका कारणले पनि यस्तो भएको राष्ट्र बैंकको भनाइ छ।

आवश्यकताअनुसार राष्ट्र बैंकले बजारमा पैसा पठाउने गर्ने काम गर्छ। बजारमा पैसाको माग धेरै भएको समयमा धेरै र कम भएको समयमा कम मुद्रा चलनचल्तीमा रहन्छ। मागअनुसार राष्ट्र बैंकले विभिन्न माध्यममार्फत बजारमा पैसा पठाउँछ।

राष्ट्र बैंकबाट बाहिरिएका नोटहरूमध्ये केही बाढी, पहिरो, आगलागी जस्ता कारणले नष्ट भएको हुन सक्छ। तर, राष्ट्र बैंकको गणनामा ती नोट पनि चलनचल्तीमा रहेको मानिन्छ। तर, त्यस्तो रकम कति छ भन्ने जानकारी राष्ट्र बैंकसँग छैन। तर पनि उसले यस्तो पैसा बजारमा छ भनि गणना गर्ने गर्छ।

अहिले १, २, ५, १०, २०, ५०, १००, ५०० र १ हजार दरका नोटहरू चलनचल्ती रहेको राष्ट्र बैंकको भनाइ छ। केही समय पहिला १, २, २५ र २ सय ५० दरका नोट छाप्ने गरेको थियो। तर, ती नोट छाप्न छोडेको धेरै भएको छ। १ र २ रुपैयाँका सिक्का भने राष्ट्र बैंकले छाप्दै आएको छ।

चलनचल्तीमा रहेकामध्ये सबैभन्दा बढी नोट १०० रुपैयाँका छन्। यसैगरी एक हजार, ५००, ५०, २०, १० र ५ का नोट पनि ठूलो परिणाममा बजारमा रहेको राष्ट्र बैंकको भनाइ छ।

नेपाली नोट सुरक्षाका हिसाबले पनि विदेशमा छापिने गरेको छ। फ्रान्स, अफ्रिकालगायतका देशमा नेपाली नोट छापिने गरेका छन्। नोट छपाइ गर्दा राष्ट्र बैंकले अन्तराष्ट्रिय रूपमा सूचना ९टेन्डर० आव्हान गर्छ। प्राप्त टेन्डरका आधारमा सबैभन्दा कम मूल्यलाई पैसा छाप्न दिइन्छ।

यसकारण कहिले कम र कहिले धेरै खर्च लाग्छ। केही वर्षयता कम्पनीहरूबीच प्रतिस्पर्धा बढेकाले विगतमा भन्दा सस्तो मूल्यमा पैसा छपाइ गरिरहेको राष्ट्र बैंकको भनाइ छ। तर पनि ठूला रकम नेपाली नोट छपाइमा खर्च हुने गर्छ।

नोट छपाइ गर्दा मुलुकले धेरै रकम गुमाउने भएकाले पनि नेपाली नोट जतनसँग राख्न राष्ट्र बैंकले बारम्बार आव्हान गर्छ। पछिल्लो समय जथाभावी केर्ने, स्टेपलर लगाउने लगायतका कार्य गर्नेलाई फौजदारी अपराध सरह मानेर तीन महिनासम्म कैदको व्यवस्था गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया