काठमाडौं - दुई लाख बढी रकमसहित घोराही उपमहानगरपालिका वडा नं. ९ दुबीचौरबाट १२ जुवाडे पक्राउ परेका छन् ।
स्थानीय श्यामलाल चौधरीको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले शनिबार बिहान एक बजे दुई लाख सात हजार बढी रकमसहित १२ जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
चौधरीको घरमा अवैध रूपमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षक प्रदीप खनालको कमाण्डमा पुगेको दश जनाको प्रहरी टोलीले शनिबार मध्यरातमा छापा मारेर उनीहरूलाई पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए ।
जुवाडे पक्राउ परेको सूचना प्रहरीले आइतबारमात्रै सार्वजनकि गरेको हो ।यस्तै महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-८ बज्राहीस्थित सडकबाट स्रोत नखुलेको १० लाख ४ हजार ५ सय नेपाली रुपैयाँ सहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मनराशिश्वा नगरपालिका-५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्र कुमार साह र भंगाहा नगरपालिका-७ बस्ने १८ वर्षीय किशोरी रहेका छन् ।
प्रहरीका अनुसार अनटेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद नगद सहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोडमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया