स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका विरोध खतिवडाको शुक्रबार साँझबाट अग्निपरीक्षा शुरु भएको छ।
पटक पटक गरी चार पटक सांसद भएका, विभिन्न नीति निर्माण तहमा बसेर काम गरेका खतिवडाले स्वास्थ्य सम्बन्धी थुप्रै नीति तथा कानुन निर्माण र संशोधन गर्न जरुरी देखिएकाले ति विषयलाई पनि किनारा लगाएर आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने बाध्यतामा छन् ।
उनले पटक पटक उठाउँदै आएको अवैध मानिएको गाँजालाई बैध बनाउनुपर्ने मागलाई कुन रुपमा सम्बोधन गर्छन् त्यो प्रतिक्षाको विषय बनेको छ । नेपाल सरकारका पूर्वसचिब भीम उपाध्ययले खतिवडाले गाँजालाई बैधानिक दिन कति सक्षम रहलान भन्ने प्रश्न नै उठाएका छन् ।
उपाध्ययले लेखेका छन्, ‘गाँजालाई वैध बनाउने काममा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी ठूलो छ। बिरोध खतिवडा गाँजालाई वैध बनाउनुपर्छ भन्ने धारणा र माग राख्ने सांसद हुन्। संसदमा गाँजा वैध गरिनुपर्छ भनेर संकल्प प्रस्ताव यिनले नै दर्ता गराईसकेका हुन्। अब गाँजा वैधानिकरणमा केही न केही प्रगति अवश्य हुनेछ। मेरो अग्रिम शुभकामना ।’
शुक्रबार पदभार ग्रहणलगत्तै उनले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने र अनियमितता, भ्रष्टाचारलगायतका कुराहरुलाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेपछि गाँजालाई बैध गराउलान भन्ने प्रश्न पनि उब्जिएको छ ।
राष्ट्रसंघीय नियोगले गाँजा औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरेपछि केही सहज त होला तर नेपालमा यसलाई बैधानिकता दिन भने त्यति सजिलो छैन् ।
दुई बर्षअघि ४५ जना सांसदहरुको समर्थनमा नेपालमा गाँजा तथा भाङलाई लागुऔषधको श्रेणीबाट हटाउन माग गर्दै खतिवडा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।
अब निर्णायक तहमा पुगेका खतिवडाले गाँजाको विषयमा कस्तो अडान लिन्छन् त्यो हेर्न बाँकी छ । नेपालले २०३३/३४ सालतिर पश्चिमी देशहरुको दबाबमा गाँजा खेती र बिक्रीलाई गैरकानुनी बनाएको बताउँदै खतिवडाले गाँजाबाट मुलुकले आर्थिक उपार्जन गर्नसक्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया