काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सरकार हुँदा नेपाली काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन् ।
शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरू मन्त्री बनाउन सकिएन । यसमा म दुस्खी छु ।’
प्रधानमन्त्री देउवाले भोलिका दिनमा अरुलाई उचित जिम्मेवारी दिने बताए । शुक्रबार प्रधानमन्त्री देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए ।
आफू प्रधानमन्त्री बनेको ८८ दिनपछि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । यसक्रममा नेपाली काँग्रेसभित्र रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ भने सत्तारुढ दलका अन्य घटकभित्र पनि असन्तुष्टि बढेको छ । बीरगञ्जमा जसपाका कार्यकर्ताहरुले पार्टी नेतृत्वविरुद्ध प्रदर्शनसमेत गरेका छन् ।
मन्त्रिपरिषद विस्तारका क्रममा नेपालगञ्जका काँग्रेस नेता एवं प्रधानन्यायाधीशका आफन्त गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएपछि प्रधानमन्त्री देउवामाथि आलोचना भइरहेको छ ।
प्रतिक्रिया