एजेन्सी - सन् २०२१ मा दिइने विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डिओर अवार्डका लागि सुरुआती मनोनयन घोषणा भएको छ । अवार्ड संस्थापक ‘फ्रान्स फुटबल’ले यस वर्षको अवार्डका लागि महिला र पुरुष दुवैतर्फ प्रारम्भिक मनोनयन घोषणा गरेको हो ।
बालोन डिओर अवार्ड महिला र पुरुष दुवैका लागि दिइन्छ । त्यसैगरी, युवा खेलाडी र उत्कृष्ट गोलकिपरलाई दिइने अवार्डका लागि पनि मनोनयन घोषणा भएको छ ।
‘फ्रान्स फुटबल’ले यसअघि नै एक विज्ञप्ति निकालेर अक्टोबर ८ तारिखमा पहिलो मनोनयन सार्वजनिक गर्ने बताएको थियो । पहिलो मनोनयनपछि टप–१० सूची सार्वजनिक हुनेछ भने अवार्ड घोषणा हुने दिन टप–३ घोषणा हुनेछ ।
यस वर्ष अवार्ड घोषणा तथा वितरण आगामी नोभेम्बर २९ तारिखमा हुने कार्यक्रम छ । गत वर्ष २०२० मा भने यी सबै अवार्ड रद्द भएका थिए । अघिल्लो वर्ष रद्द भएको अवार्ड यस वर्ष पनि दिइनेछ । र, सोही कार्यक्रमअनुसार ‘फ्रान्स फुटबल’ले आज विधागत रूपमा प्रारम्भिक मनोनयन सार्वजनिक गरेको हो ।
यस वर्ष अवार्डका लागि जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की, फ्रेन्च क्लब पिएसजी तथा अर्जेन्टिनाका लिओनल मेस्सी र इंग्लिस क्लब चेल्सी तथा इटालियन मिडफिल्डर जर्जिन्होलाई मुख्य दाबेदार मानिएको छ ।
यी ३ जनै बीच यसपटक कडा टक्कर हुने देखिएको छ । यसपटक पिएसजीका मेस्सीले अर्जेन्टिनाबाट कोपा अमेरिका र गत सिजन बार्सिलोनाबाट कोपा डेल रे कप गरी दुई उपाधि जिते । यस वर्ष मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्यो भने मेस्सीले पनि करिअरको पहिलो अन्तर्राष्ट्रिय उपाधि जिते ।
बार्यनका लेवान्डोस्कीले यस वर्षभित्र बुन्डेसलिगा, क्लब विश्वकप जर्मन सुपर कप गरी ३ उपाधि जितेका छन् । उनले यस वर्षमा मात्रै ५० गोलको आँकडा पूरा गरिसकेका छन् ।
यता, चेल्सी तथा इटालीका जर्जिन्हो उपाधि र सफलताका मामिलामा सबैभन्दा अघि छन् । उनले यस वर्षभित्र चेल्सीबाट च्याम्पियन्स लिग र युइएफए सुपर कप जिते भने यसै वर्ष इटालीबाट युरो कपको उपाधि पनि जितेका छन् ।
टिम उपाधि र सफलताका आधारमा उनको प्रतिस्पर्धामा कोही पनि छैन । तर, व्यक्तिगत प्रदर्शन र तथ्यांकका आधारमा उनीभन्दा मेस्सी र लेवान्डोस्की निकै अघि छन् ।
प्रतिक्रिया