रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रालय

४ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

सत्ता साझेदार दलहरुलाई बिहान ११ बजेसम्म मन्त्री बन्नेको नाम बुझाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् । बालुवाटार स्रोतका अनुसार दिउँसो ४ बजे मन्त्रीहरुको सपथग्रहण हुनेछ ।

गठबन्धनका दलहरुले आफूले पाउने मन्त्रालय र संख्या टुंग्याइसकेका छन् । प्रधानमन्त्री देउवासहित कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन् ।

कांग्रेसबाट प्रधानमन्त्रीसहित पाँचजना मन्त्री भइसकेकाले बाँकी ३ मन्त्रालयमा कांग्रेसको तर्फबाट मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, पुष्पा भुसालमध्ये मन्त्री हुने सम्भावना छ ।

कांग्रेसले स्वास्थ्य छाडेर सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने भएको छ ।

माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।
देउवा सरकारमा माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल पहिले नै नियुक्त भइसकेका छन्। माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछ ।

एकीकृत समाजवादीबाट विरोध खतिवडालाई शहरी विकास, रामकुमारी झाँक्रीलाई स्वास्थ्य, प्रेम आलेलाई पर्यटन र किसान श्रेष्ठ श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् । समाजवादीले भवानी खापुङलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया