काठमाडौं - भारतबाट यसै साता १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइँदैछ। आठ महिनाअघि प्राप्त भइसक्नुपर्ने सो खोप यही शनिबार नेपाल ल्याइपुर्याइने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।
भारतबाट ल्याइने सो खोप पहिलो डोजका रूपमा कोभिसिल्ड वा अस्ट्राजेनिका लगाएकाहरूलाई दोस्रो डोज दिने र अन्य समूहलाई पनि क्रमशः दिँदै जाने तयारी भइरहेको बताइएको छ ।
यस्तै नेपाललाई क्यानडा र माल्दिभ्सले एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने भएका छन् । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज खोप दिने भएको छ ।
त्यसैगरी माल्दिभ्सले दुई लाख ३० हजार डोज खोप अनुदानमा उपलब्ध गराउने बताइएको छ । तर, उक्त खोप नेपाल आइपुग्ने मिति भने तय भइसकेको छैन ।
साथै चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच छलफल भएको थियो ।
छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अनुदान सहयोग गर्ने बताएको जनाइएको छ ।
प्रतिक्रिया