सेयर बजारमा आज लघुवित्त कम्पनीहरूमा लगानीकर्ताको आकर्षण, ४ अर्ब ५० करोड ६ लाख बढिको कारोबार

४ बर्ष अगाडि

काठमाडौं - आज कारोबारको चौथो दिन (बुधबार) सेयर बजारमा चमक देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार भएका १३ वटै उपसमूह उकालो लागेको छ । 

बुधबारको बजार हेर्दा लघुवित्त कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । आज सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर अधिकांश हिस्सा लघुवित्तहरूको ओगटेका छन् । 

पछिल्लो समय केही लघुवित्तहरूले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लघुवित्तप्रति लगानीकर्ताहरूको  आकर्षण बढेको हो । लगानीकर्ताहरूका लागि कम्पनीले प्रदान गर्ने प्रतिफलले सधैँ महत्त्व दिने गर्दछ ।

नेपाल स्टक एक्सचेञ्जका आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.१० मा पुगेको छ । नेप्से २.६२ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १२.७२ अंकले बढेर ५०४.७३ मा पुगेको छ ।

कूल २२७ वटा कम्पनीको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५० करोड ६ लाख ५८ हजार एक सय ४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह र लघुवित्त समूह बढेको छ । बुधबार सिटिजन्स बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २३ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो ।

बुधबार १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश लघुवित्तहरू छन् । त्यसैगरी, बुधबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया