एजेन्सी - अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।
घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।
विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।
उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो । यसरी मारिनेमध्येमा अधिकांश हुथी विद्रोही रहेका छन् । यसरी मारिनेमा ७४ जना हुथी विद्रोही लडाकू र अरु आठ जना यमनका सेना रहेका यहाँको सैन्य स्रोतले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा ७४ विद्रोही मारिएका छन् । सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । समाचारअनुसार अधिकांश विद्रोहीहरु मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाइ कारबाहीमा परी मारिएका हुन् ।
प्रतिक्रिया