काठमाडौं - दक्षिण कोरियाले पुनः रोजगारीका लागि अनुमति पाएका श्रमिकहरुलाई कोरिया लैजान रूची देखाएको छ ।
दक्षिण कोरीयामा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालले कामदार पठाउन अनिच्छा देखाएपछि रोकिएको कोरिया रोजगारीको गतिरोध करीब २० महिनापछि खुल्ने देखिएको हो ।
नेपालले पुनः रोजगारीमा जाने र भाषा परीक्षा उतिर्ण नयाँ कामदार दुवै बर्गका नेपालीलाई कोरिया जाने बाटो खोल्नपर्ने माग गरिरहेको भए पनि कोरीयाली पक्षले नेपालबाट जाने कामदारको स्वास्थ्यसँग सम्बन्धी विभिन्न शर्तहरु राखेको कारणले कोरिया रोजगारीमा जाने क्रम रोकिएको थियोे ।
कोरियाले नेपालबाट जाने कामदारको कोरोना बिमा, पीसीआर परीक्षण, सिधा हवाई उडान र १४ दिन कोरियामा क्वारेन्टाइन बस्नुपर्ने शर्त राखेको छ ।
पछिल्लोपटक नेपालले कोरियाले राखेका जनस्वास्थ्य सम्वन्धी शर्त पूरा गरेपछि कोरियामा एकै रोजगारदातासँग नियमित रूपमा ४ वर्ष १० महिना काम गरेर नेपाल आई पुनः रोजगारीका लागि अनुमति पाएकाहरुलाई कोरिया लैजाने सहमति जनाएको बताइएको छ ।
सहमति अनुसार वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले पहिलो चरणमा १ सय १९ कामदारको भिसा प्रक्रियाका लागि नामावली सार्वजनिक गरेको छ । उनीहरूमध्ये आगामी कात्तिक १० गते ५० जना उडाउने तयारी रहेको बिभागले जनाएको छ ।
कोरिया रोजगार नियमित भएपछि उडानको पर्खाइमा रहेका १० हजार नेपाली कोरिया रोजगारमा जान पाउने विभागको भनाइ छ ।
प्रतिक्रिया