काठमाडौं - आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ । कर छलेको सामान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजस्व कार्यालयले मङ्गलबार साँझ सप्लायर्समा छापा हानेको हो ।
कार्यालयले कर छलेर ल्याएको २६१ प्याकेट झुम्का सुपरपावर र १४८ प्याकेट बल्ब छाप भएको सुर्तीसमेत बरामद गरेको कर अधिकृत खडानन्द खत्रीले जानकारी दिए । कर छली गरी अवैध बाटोबाट सुर्खेत भित्र्याइएको ४०९ प्याकेट सुर्तीजन्य पदार्थ बरामद गरिएको कार्यालयका कर अधिकृत खत्रीले बताए । उक्त पसलमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत छापा हानेको थियो ।
छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरेको प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताए । राजस्व कार्यालयले दोस्रो चरणको निषेधाज्ञामा समेत सप्लायर्सले अवैध सुर्ती बिक्री गरेको भेटिएपछि मुद्दा नै चलाइएको जनाएको छ ।
यस्तै भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु ९भारतीय रुपैयाँ०सहित नियन्त्रणमा लिइएको हो । पैतीस वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ ।
विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाखसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अग्रवाललाई प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको र थप अनुसन्धानका लागि इटहरी लगिएको छ । भारतीय रकमको स्रोत नखुलेपछि अग्रवाललाई पक्राउ गरेको बुझिएको छ ।
मे १ च ६४२४ नंको कारबाट झापा जाँदै गर्दा अग्रवालका गाडीचालक पूर्णबहादुर कठेतसहित अग्रवाललाई नियन्त्रणमा लिइएको हो । अग्रवालले विगतदेखि नै फिक्कलमा बसी भारतीय नोटको कारोबार गर्दै आएको अनुमान प्रहरीले गरेको छ । सटही काउन्टरसमेत सञ्चालन नगरी अग्रवालले भारतीय नोट सटहीको काम गर्दै आएको बुझिएको छ ।
स्रोत नखुलेको पैसासहित पक्राउ गरिएपछि थप अनुसन्धान गरिने भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले बताए ।
स्रोत नखुलेले १० लाखभन्दा माथिको रकम भएकाले अग्रवाललाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया