काठमाडौं - साहस उर्जा कम्पनी लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भइसकेको छ ।
कम्पनीको आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बनेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३५ रूपैयाँ ११ पैसादेखि अधिकतम ४०५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
साहस उर्जा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १३५ रूपैयाँ ११ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ४०५ रुपैयाँ ३३ पैसा हुन्छ ।
कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जस अनुसार ६ लाख ४४ हजार जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका थिए । बाँकीको भने हात खाली भएको थियो ।
प्रतिक्रिया