काठमाडौं - जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो । विसं २०७५ भदौ २० गतेदेखि उनी फरार रहेका थिए ।
प्रहरीले कैलालीकै बर्दगोरिया–६ बस्ने वर्ष २२ का अशोक चौधरीलाई पनि पक्राउ गरेको छ । उनलाई जबर्जस्ती करणीको कसूरमा अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको थियो । उनी २०७२ असार २१ बाट फरार रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी कैलाली जिल्ला अदालतबाट लागुऔषध मुद्दामा २०६६ वैशाख १२ गते रु ५०० जरिवाना भई फरार रहेका धनगढी उपमहानगरपालिका–१ बस्ने शत्रुजित जोशीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपर्नेमा वन मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–१७ बस्ने वर्ष १८ का अमन चौधरी, सोही ठाउँका वर्ष २९ का कृष्ण राना, वर्ष १८ का अभिषेक चौधरी र वर्ष ३० का बब्लु राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।
यस्तै बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराएका थिए ।
किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा पक्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घटनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरूको खोजी जारी रहेको छ ।
युवा सङ्घ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो । घाइते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो ।
लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयसँग भएकाले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको मृतकका बुबा भाटको दाबी रहेको छ । प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी पक्राउ परेकामथि र घटनाबारे अनुसन्धान गर्ने जनाएको छ ।
प्रतिक्रिया