एजेन्सी - अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन् ।
प्रवक्ता बिलाल करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकुहरू तालिबानी सुरक्षाकर्मीका विरुद्ध आक्रमण गर्ने तयारीमा रहेको बुझिएको छ । तर त्यसको विस्तृत विवरण भने बाहिर आएको छैन ।
कोटल-ए-खैरखाना इलाकामा घन्टौंसम्म चलेको उक्त दोहोरो झडपका क्रममा एउटा गाडी र भवनमा समेत आगो लागेको स्थानीय बासिन्दाले जनाएका छन् । उनीहरूका अनुसार त्यस घटनामा आईएसका तीन सदस्य मारिएका छन् ।
यो झडप मध्य काबुलको एउटा ठूलो मस्जिद बाहिर भएको बम हमलाको केही घण्टापछि भएको थियो जहाँ तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदको मृतक आमाको प्रार्थनाको कार्यक्रम चलिरहेको थियो ।
उक्त घटनामा दुई नागरिक मारिएका थिए भने अन्य चार जना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानको कब्जापछि अफगानिस्तानमा सुरक्षा अवस्था सामान्य रहे पनि पछिल्ला केही दिनमा आईएस सम्बद्ध लडाकुहरूले काबुल र पूर्वी नान्गाहार प्रान्तको राजधानी जलालाबाद शहरमा बम आक्रमण गर्न शुरु गरेका छन् ।
साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा २८ हुथी विद्रोहीको मृत्यु
यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ । प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना हुथी विद्रोहीहरुको ज्यान गएको यमनको सरकारी सेनाले सोमबार जानकारी दिएका छन् ।
यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।
उक्त हवाई आक्रमणमा २८ जना हुथी विद्रोही मारिएका र त्यस कारबाहीका क्रममा अरु केही घाइते भएका पनि बताइएको छ । उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।
साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।आइतबारको कारबाहीका क्रममा हुथीहरुले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियारहरु पनि पक्राउ गरिएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया