अठार वर्षदेखि भाडामा यातायात कार्यालय, सवारी ज्यान मुद्दाका प्रतिवादी २१ वर्षपछि पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । 

हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा) नहुँदा सेवाप्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका लागि आवश्यक कोठा नहुँदा साँघुरो भवनबाट सेवाप्रवाह गर्दै आइरहेको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) का निमित्त प्रमुख कुशेश्वर शाहले जानकारी दिए । 

दैनिक एक हजारको हाराहारीमा यस कार्यालयमा विभिन्न कामका लागि सेवाग्राही आउँछन् । बल्लतल्ल सेवाप्रवाह पु¥याएको कार्यालयको दाबी छ । दुईवटा भवनमा रहेको यस कार्यालयको मासिक भाडा रु ८४ हजार तिर्नुपर्छ । 

वि.सं २०६० माघ १ गतेदेखि साविकको संरचनाअनुसार यातायात व्यवस्था कार्यालयको रुपमा यस कार्यालय स्थापना भएको थियो । स्थापना भएको १८ वर्ष बितिसक्दा पनि कार्यालय भवन निर्माण हुन नसक्दा साँघुरो गरी सेवाप्रवाह गर्दै आएको कार्यालयले जनाएको छ । 

सवारी ज्यान मुद्दाका प्रतिवादी २१ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादीलाई २१ वर्ष पछि पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ढालीपोखरी बस्ने ४२ वर्षीय आनन्दराज शाहलाई आइतबार पक्राउ गरेको हो । 

जिल्ला अदालतको वि.सं २०५७ साल वैशाख २८ गतेको फैसलाले ११ महिना पाँच दिन कैदको फैसला सुनाएपछि शाह फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका शाहलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । 

त्यसैगरी वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका दुई जनालाई समेत तोकिएको जरिवाना रु दश हजार भुक्तानको लागि अदालतमा उपस्थित गराइएको उनले बताए । तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया