काठमाडौं - यूएईको मनी एक्सचेन्जबाट घरमा पैसा पठाउने एक नेपाली कामदारले एक किलो सुन (करीब ४५ लाख रूपैयाँ) जितेका छन् । त्यहाँको अल अहलिया एक्सचेन्ज मार्फत नेपाल पैसा पठाउदै आएका इलाम जमुनाका नरेन्द्र मगरले आइतवार भएको 'लक्की ड्र' मा एक किलो सुन जितेका हुन् ।
एक्सचेञ्जका अपरेसन प्रमुख कमल सुब्बाले विगत दुई वर्षदेखि यूएईको ट्रान्सगार्ड कम्पनीमा वेटरको पदमा काम गरिरहेका नरेन्द्रले उक्त सुन जितेको बताए । नरेन्द्रले गत जुनमा बरदुबईमा रहेको एक्सचेन्जको शाखाबाट सात सय दिहराम नेपाल पठाएका थिए ।
गत १६ मेदेखि १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफर अन्तरगत विदेश रकम पठाउनेमध्ये एक जनालाई 'मेघा ड्र' मार्फत एक केजी सुन उपहारको व्यवस्था गरिएको थियो । वैदेशिक रोजगारमा गएको कामदाले ५० ग्राम भन्दा धेरै सुन नेपाल ल्याउन नपाउने व्यवस्थाका कारण मगरलाई एक्सचेन्जले सुनको सट्टा नगद दिने बताएको छ ।
'लक्की ड्र' भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नरेन्द्रले ४४ लाख ७८ हजार ९ सय ५२ रुपैयाँ पाउने भएका छन् । एक्सचेन्ज 'लक्की ड्र' गर्दा नरेन्द्र भने काममा व्यस्त रहेको बताइएको छ ।
प्रतिक्रिया