अहिले पनि ५१ प्रतिशत जनता एमालेको पक्षमा छ : ओली

४ बर्ष अगाडि

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भव्यतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनले पार्टीको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव सुझावसहित पारित गरेको छ ।  

पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाको जवाफ दिँदै जनताको बहुदलीय जनवाद कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धान्त रहेको उल्लेख गर्दै समाजवाद निर्माणका लागि पार्टीको स्पष्ट धारणा रहेको बताए । श्रमजीवी वर्गको हित रक्षाका लागि सिद्धान्त र व्यवहारलार्ई अघि बढाउँदै कार्यक्रमका रुपमा आएको जनताको बहुदलीय जनवादलाई अहिले मार्गदर्शक सिद्धान्तका रुपमा पार्टीले अंगिकार गरेको र यसले द्धन्दात्मक भौतिकवाद र बहुदलीय प्रतिस्पर्धालाई अवलम्वन गरेको अध्यक्ष ओलीले बताए । यो जडसूत्र होइन, यसले जीबनको गतिसँगै परिवर्तनलाई आत्मसात गरेको पनि उनले स्पष्ट गरे ।

नेपाली समाज समाजवाद उन्मुख दिशामा रहेको प्रसंग उल्लेख गर्दै उनले नागरिकले सम्मानजनक जीवनयापन गर्न पाउने अधिकारसहितको अवस्था सिर्जना गर्नु नै समाजवादउन्मुख अवस्था रहेको बताए । त्यसतर्फ आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकका  आधारभूत अधिकारका रुपमा रहेको गास, बास, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको स्मरण गरे ।

समाजवादमा पुग्न राष्ट्रिय पुँजीको विकास गर्न एमाले प्रतिबद्ध रहेको वताउँदै अध्यक्ष ओलीले सम्पूर्ण कार्यकर्तालाई उत्पादनमुलक कार्यमा जोडिन आह्वान गरे । उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको र पार्टीलाई आगामी निर्वाचनमा स्पष्ट बहुमतमा पु¥याउने एकमात्र ध्येय रहेको बताउँदै अहिले पनि ५१ प्रतिशत जनता एमालेको पक्षमा रहेको बताए ।

पार्टीमा योग्यता, क्षमता र योगदानका आधारमा जिम्मेवारी दिने विषयमा कुनै भेदभाव नहुने बताउँदै पार्टी अध्यक्ष ओलीले भ्रममा परेका र बाटो बिराएका नेता—कार्यकर्तालाई मूलघरमा फर्कन आह्वान गरे । उनले विधान महाधिवेशनमा सहभागी नेता कार्यकर्तालाई छिट्टै हुने स्थानीय तहको निर्वाचनका साथै तीनै तहका निर्वाचनमा पार्टीलार्ई विजयी बनाउन सक्रियताकपूर्वक लाग्न पनि निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले वर्तमान सरकार वेहाल अवस्थामा रहेको टिप्पणी गर्दै यसले दक्षिणतिर फर्केर बोल्न पनि नसक्ने अवस्थामा रहेको बताए ।
सांगठानिक प्रस्तावमाथि उठेका जिज्ञासा र सुझाव सम्बन्धमा जवाफ दिँदै पार्टीका महासचिव कमरेड ईश्वर पोखरेलले समूहगत छलफलबाट वर्तमान चुनौतीहरुको सामना गर्दै पार्टी कसरी अगाडि बढ्छ भन्ने लगायत विभिन्न महत्वपूर्ण टिप्पणी र सुझावहरु प्राप्त भएकाले तिनलाई ग्रहण गरिने प्रतिबद्धता व्यक्त गरे । 

उनले पार्टीलाई व्यवस्थित गर्न सिद्धान्त र विचारमा एकरुपता जरुरी रहेको र यस्ता महाधिवेशनमा हुने छलफलले सिंगो पार्टीलाई निर्देशित गर्ने धारणा राखे । विगतमा पार्टी प्रणाली कमजोर बनेको स्मरण गर्दै उहाँले नेकपा एमाले शक्ति निर्माण गर्ने  यात्रामा रहेकाले त्यसका लागि श्रृंखलाबद्ध पार्टी कमिटी निर्माणमा लाग्ने बताए । महासचिव पोखरेलले पार्टीमा पुस्ताहरुको उपस्थितिका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्दै यसलाई योजनाबद्ध रुपमा लागू गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि मापदण्ड भने पूरा गरेको हुनुपर्ने धारणा राखे । 

पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने माग सकारात्मक रहेको बताउँदै हिजो आन्दोलनबाट नेतृत्व विकास हुने गरेको र अब नेतृत्वमा आउन प्रभावकारी नीति, कार्यक्रम ल्याउन सक्ने, कम्युनिष्ट पार्टीको कार्यकर्तामा हुनपर्ने आचरण भएको व्यक्ति  प्राथमिकतामा पर्ने अवस्था रहेको पनि बताए । महासचिव पोखरेलले विगतमा पूर्णकालीन कार्यकर्ताको बढी आवश्यकता हुन्थ्यो, अब पनि पूर्णकालीन कार्यकर्ताको आवश्यकता रहे पनि एमालेका सबै नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताए । 

पार्टी संगठन विभाग प्रमुख एवम् उपमहासचिव कमरेड बिष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावमाथि उठेका जिज्ञासाको जवाफ दिँदै प्रतिनिधिहरुको सुझावलाई ध्यानमा राखी केन्द्रीय पदाधिकारीमा अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, एकजना उपमहासचिव र सातजना सचिव रहने व्यवस्था गरिएको बताए ।  विधानतः पार्टीमा ७० बर्षको उमेर हदका सम्बन्धमा स्पष्ट पार्दै उनले पार्टीको कार्यकारी पदमा ७० बर्ष पूरा नभएसम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदै उमेर हद पूरा भएका कारण जिम्मेवारीबाट हट्न नपर्ने स्पष्ट गरे । 

उनले एउटै व्यक्ति कुनै एउटा पदमा दुई कार्यकालभन्दा बढी पटक उम्मेदबार हुन नपाइने विधानमा स्पष्ट व्यवस्था हुने जानकारी गराए ।  उनले महाधिवेशन प्रतिनिधिले दिएका उचित सबै सुझाव विधानमा समेटिने बताउँदै पार्टीको लोगो परिमार्जन गरिएको जानकारी गराए । उपमहासचिव पौडेलले महाधिवेशनमा प्रवासबाट पाँच प्रतिशत सहभागिताको माग उचित भएको उल्लेख गर्दै प्रवासका नेपालीलाई संगठित गर्न विशेष व्यवस्था गरिने बताए । 

महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ । जसमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य रहेका छन् ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया