आफूखुसी भाडा तोक्दै गाडीमा नक्कली सूची, विभाग भन्छ : भाडा बढेको छैन

४ बर्ष अगाडि

काठमाडौं उपत्यकाको छोटो दूरीमा चल्ने सवारी साधनले आफूखुसी भाडादर तोक्न थालेका छन् । उपत्यकाका यातायात व्यवसायीले केही दिनयता आफूखुसी भाडा तोक्न थालेका हुन् । 

पछिल्लो समय छोटो दूरीमा चल्ने सवारी साधनले १४ रुपैयाँ पर्ने गाडीभाडा २० रुपैयाँ र २० रुपैयाँ पर्ने  गाडी भाडा बढाएर ३० रुपैयाँसम्म पुर्याएका छन् । यात्रुले सोधीखोजी गरेमा देखाउनलाई बढेको भाडाको नक्कली सूची समेत सवारीमा राख्दै आएका छन् । यस्तै सार्वजनिक नेपाल यातायातले १५ रुपैयाँ भाडा लिनु पर्नेमा २० रुपैयाँ लिएको र किन भाडा बडाएको भन्दा उल्टै हप्काउने गरेको एक यात्रुले बताए । 

व्यवसायीले आफूखुसी भाडा तोकेर यात्रु ठगेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिनमा ११९ वटा सवारीलाई सामान्य कारबाही गरिसकेको छ । शनिबार ६५ र आज आइतबार ५४ वटा सवारीलाई कारबाही गरेको महाशाखाले जनाएको छ । 

ट्राफिक प्रहरीले अहिले बढी भाडा लिने सवारीलाई भाडा फिर्ता गराउँदै र सम्झाएर छाड्दै आएको छ । भाडा फिर्ता गर्न नमान्ने सवारीको कागजपत्र हेर्ने र आवश्यक परे यातायात व्यवस्था विभागमा पठाउँदै आएको शर्माले रातोपाटीलाई बताए ।

भाडा बढेको छैनः विभाग
यस्तै, छोटो दूरीको सवारी भाडा बढाउने कुनै पनि निर्णय नभएको यातायात व्यवस्था विभागले जनाएको छ । प्रदेशले नै भाडा बढाउने निर्णय नगरेकाले उपत्यकाका छोटो दूरीका सवारीले आफूखुसी भाडा तोक्दै यात्रु ठग्न थालेको पाइएको विभागले जनाएको छ । 

यस सम्बन्धी आवश्यक छानबिन र कारबाही भइरहेको विभाले जनाएको छ । तर, प्रदेश सरकारले भाडा समायोजनमा ढिलासुस्ती गर्दा व्यवसायी आजित भएको र आफूखुसी भाडा बढाएको हुन सक्ने महासंघको भनाई छ । 

संघीय सरकारले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश सवारीको भाडा समायोजन गरिसकेको छ । उक्त मितिमा यात्रुबाहक सवारीको भाडा २८ प्रतिशतसम्म बढेको थियो । तर, प्रदेश भित्र चल्ने छोटो दूरीका सवारीको भाडादर भने समायोजन भएको छैन । अहिलेसम्म दुई वटा प्रदेशले मात्रै भाडादर समायोजन गरेका छन् । बाँकीले भाडा बढाएका छैनन् ।

छोटो दूरीमा चल्ने सवारी साधनका व्यवसायीले भाडा बढाउनुका साथै सांकेतिक आन्दोलन समेत गर्न थालेका छन् । आफूखुसी भाडा लिने सवारीले प्रहरीमा उजुरी परेपछि भाडा फिर्ता नदिएर आन्दोलनको थालनी गरेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया